Home 5 संगठन 5 उद्यान 5 धनुषा वनस्पति उद्यान, धनुषा

धनुषा वनस्पति उद्यान, धनुषा

धनुषाधाम वनस्पति उद्यान जनकपुर उप-महानगरपालिकादेखि १८ कि.मी. उत्तर-पूर्वमा धनुषा जिल्लाको धनुषाधाम नगरपालिकामा अवस्थित छ।नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय वनस्पति विभाग, तत्कालिन जिल्ला वनस्पति कार्यालय, धनुषा (हाल वनस्पति अनुसन्धान केन्द्र,धनुषा) अन्तर्गत वि.सं. २०५६ सालमा धनुषाधाम वनस्पति उद्यानको स्थापना भएको हो। यो उद्यान  26049’ १ ” देखि 26050’35” उत्तरी अक्षांश र 86 ’33” देखि 8603’18” पूर्वी देशान्तरको बीचमा रहेको छ। समुद्र सतहदेखि यसको उचाई १०६ मीटर रहेको छ। यस उद्यानले १२० हेक्टर क्षेत्रफल ओगटेको छ।

धनुषाधाम वनस्पति उद्यानले वनस्पतिहरुको स्व-स्थानीय र पर-स्थानीय संरक्षण गरी जैविक विविधताको संरक्षण गर्नका साथै वातावरणीय संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ। धनुषाधाम वनस्पति उद्यानमा करिब २५३ वनस्पति प्रजातिहरुको स्व-स्थानीय तथा पर-स्थानीय संरक्षण गरिएको छ। जम्मा २५३ वनस्पति प्रजातिमध्ये ८३ रुख, ४५ बुट्यान, ११० झारपात र १५ लहरे प्रजाति रहेका छन्। उद्यानमा संकटापन्‍न अवस्थामा पुगेका वनस्पतिहरुको संरक्षण वाटिका, धार्मिक वाटिका, जडीबुटी शैक्षिक वाटिका, खेती प्रविधि अनुसन्धान स्थल, जलीय वनस्पति वाटिका, गुलाब वाटिका, इथ्नोबोटानिकल वाटिका, धनुष वाटिका, फर्न वाटिका, दुर्लभ लोपोन्मुख वनस्पति संरक्षण वाटिका, ट्याक्सोनोमिकल फेमिली वाटिका, जर्मप्लाज्म संरक्षण वाटिका, अर्किड हाउस, ग्रिन हाउस, क्याक्टस हाउसमा गरिएको छ भने जडीबुटी बिरुवा उत्पादन तथा वृक्षारोपण साथै जडीबुटीहरुको खेतीको माध्यमबाट स्थानीय जनसमुदायलाई वनस्पति उद्यानको महत्वबारे जानकारी हुनुका साथै त्यसबाट फाइदा पुर्‍याइरहेको छ। वनस्पति अनुसन्धान केन्द्र, धनुषाले हाल यस वनस्पति उद्यानको करिब ३० हे. मा वनस्पति अनुसन्धान संरक्षण तथा उद्यान विकास कार्यक्रम तथा जडीबुटी विकास कार्यक्रम अन्तर्गतका क्रियाकलापहरु संचालन गरिरहेको छ। यस उद्यानभित्र प्राकृतिक अवस्थामा रहेका वनस्पतिहरुको स्व-स्थानीय संरक्षण पनि हुदैं आईरहेको छ। उद्यानभित्र खासगरी सालका रुखहरुको बाहुल्यता रहेको छ।