वनस्पति स्रोतको जर्गेना र प्रयोग गर्ने हेतुले वि.स १९९४ सालमा वनस्पति फाँट र वनस्पति गोश्वाराको स्थापना भए पश्चात् वनस्पति सम्पदाको सर्वेक्षण, पहिचान, प्रविधि विकास, संरक्षण एवं सम्बर्द्धन तथा दिगो विकास गर्ने प्रमुख उद्धेश्यका साथ वि.सं. २०१६ सालमा वनस्पति विभागको स्थापना भएको हो। विज्ञान प्रविधिको क्षेत्रमा अध्ययन, अनुसन्धान र विकास विभिन्न चरणहरु पार गर्दै यस विभाग हालको अवस्थासम्म आइपुगेको छ । वनस्पति वंशाणुश्रोतको दिगो संरक्षण, सम्बर्द्धन तथा सदुपयोगद्वारा वातावरणीय सन्तुलन तथा आर्थिक समृद्धि हासिल गर्न दीर्घकालिन सोच लिएको वनस्पति विभागले मुख्यतया चारवटा क्षेत्रमा सेवा प्रवाह गर्दै आइरहेको छ । पहिलो - नेपालमा पाइने फूल फूल्ने र नफुल्ने वनस्पतिहरुको अभिलेख राखी Nepal Flora प्रकाशन गर्ने, दोस्रो- नेपालमा पाइने दुर्लभ, लोपोन्मुख, संकटापन्न र रैथाने वनस्पतिहरुको स्वस्थानीय एवम् परस्थानीय संरक्षण गर्ने, तेस्रो- नेपालमा पाइने जडिबुटीहरुको खेती प्रविधि विकास गर्ने तथा प्रविधि हस्तान्तरण गर्ने र चौथो- नेपालमा संकलन गरिएका जडिबुटीहरुको सारतत्वको गुणस्तर निर्धारण एवम् प्रमाणीकरण गर्ने रहेको छ । यस विभागले वनस्पति र जडिबुटीको परम्परागत प्रयोग र खेतीलाई अझ व्यापक रुपमा विस्तार एवम् व्यवसायीकरण गर्ने तर्फ निजी, सहकारी र उद्यमीहरुसँग सहकार्य गर्न आफ्ना कार्ययोजनाहरु बनाएर लागू गरिरहेको छ । समग्रमा वनस्पति विभाग, मातहतका कार्यलयहरु एवम् वनस्पतिसँग सम्बन्धित सेवा प्रवाह गर्ने निकाय एवम् संस्थाहरुबाट संचालित वनस्पति सम्बन्धी कार्यक्रमहरुबाट नेपाल सरकारले तय गरेको दीर्घकालीन लक्ष्य "समृद्ध नेपाल : सुखी नेपाली" हासिल गर्न सहयोग पुग्ने कुरा जानकारी गराउन पाउँदा हर्षको अनुभूति गरेको छु ।