Home 5 संगठन 5 उद्यान 5 मूलपानी वनस्पति उद्यान,सल्यान

मूलपानी वनस्पति उद्यान,सल्यान

मूलपानी वनस्पति उद्यान राप्ती लोकमार्ग अन्तर्गत कपुरकोटदेखि २.५ कि.मि उत्तर पश्चिम क्षेत्रमा अवस्थित छ।यसको स्थापना वि. सं. २०५६ सालमा भएको हो। समुन्द्र सतहबाट १४२० मिटर को उचाईमा रहेको यस वनस्पति उद्यानले ५.५ हेक्टर क्षेत्रफल ओगटेको छ। स्थापना कालदेखि नै यस उद्यानले वनस्पतिको स्वस्थानीय र परस्थानीय संरक्षण गर्दै आईरहेको छ। मूलपानी वनस्पति उद्यानको वानस्पतिक अभिलेखको कुरा गर्दा हालसम्म १५६ वानस्पतिक परिवार, ४०५ जातिका ५५१ प्रजातिहरुको लेखाजोखा भईसकेको छ र यो क्रम निरन्तर छ । ती मध्ये स्वस्थानीय २५७ प्रजाति र विदेशी शोभनियसहित २९४ प्रजाति परस्थानीय बिरुवाहरु रहेका छन। मूलपानी वनस्पति उद्यानमा संरक्षित कुल ५५१ प्रजातिमध्ये घांस, पोथ्रा र रुखका आधारमा पोथ्रा प्रजातिको वाहुल्यता रहेको पाईन्छ जुन २४८ प्रजाति छ । त्यसपछि क्रमश: रुख १३३, बुट्यान ९९, लहरा ३७, इपिफाइट ३४ प्रजाति रहेका छन। समग्रमा एन्जियोस्पर्म (फूल फुल्ने बिरुवाहरु) ४९५, जिम्नोस्पर्म (कोणधारी बिरुवा) १९ प्रजाति र उन्यू ३७ प्रजाति रहेका छन् । ती मध्ये २०१ प्रजाति शोभनिय वनस्पतिको रुपमा संरक्षण गरिएको छ। ३४ प्रजातिहरु एभिन्यु रुखको रुपमा उपयोगी पाइएका छन् र १२ प्रजाति गार्डेनमा हेज वनाउन प्रयोग भइरहेका छन भने ५२ प्रजाति विदेशी बिरुवाको रुपमा सुचिकृत छन् । सुनगाभा अथवा सुनाखरीसहित गार्डेन भित्रको क्षेत्रमा ६६ प्रजातिहरु दुर्लभ लोपोन्मुख र साइटिसमा सुचिकृत वनस्पतिको रुपमा संरक्षित छन् ।यसैगरी ८ प्रकारका धार्मिक र ६ प्रकारका मिचाहा प्रजातिहरु रहेका छन् भने २४५ प्रजाति औषधीय वनस्पति छन्। यस उद्यानमा रक गार्डेन (ढुङे बाटिका), फिजिक गार्डेन (जडीबुटी बाटिका), जलिय गार्डेन, ड्रिम गार्डेन, शैक्षिक गार्डेन, इथनोबोटानिकल गार्डेन, दुर्लभ लोपोन्मुख गार्डेन, ट्याक्सोनोमिकल फ्यामली गार्डेनजस्ता ८ वटा थेमाटिक युनिटहरु रहेका छन र फर्न हाउस, क्याक्टस हाउस, अर्किड हाउस नामक तिनवटा जर्मप्लाज्म संरक्षित इकाइ रहेका छन् । यस उद्यानमा टिमुर, तेजपात, काउलो, अमला, हर्रो, वर्रो, सुगन्धकोकिला, सुगन्धवाल, कुरिलो, रिठ्ठा आदि जस्ता महत्वपूर्ण जडीबुटीहरु संरक्षित रहेका छन भने ३० प्रकारका दुर्लभ लोपोन्मुख वनस्पतिमा सुनाखरीहरु, काकरसिंगी, टटेलो, लौठसल्ला, सतिसाल, विजयसाल, कलबल, गुन्सी चिराइतो आदि रहेका छन् ।

कर्णाली प्रदेशका घुम्न लायक ठाउँमध्ये एक बनाउने लक्ष्यका साथ अघि बढेको मूलपानी वनस्पति उद्यान सल्यान जिल्लाका पर्यटकीय क्षेत्रमध्ये एक बन्दै गइरहेको छ । उद्यान वर्षभरी नै खुला रहन्छ र यस उद्यानमा कार्यालय समयमा जोसुकैले पनि सहजै नि:शुल्क अवलोकन गर्न पाउने व्यवस्था गरिएको छ। वर्षेनी ५००० आगन्तुकहरुले यस उद्यान भ्रमण गर्ने गरेका छन् । साथै उद्यान क्षेत्र विद्यार्थी, अनुसन्धानकर्ताका लागि शैक्षिक हवको रुपमा विकास भइरहेको छ। आगन्तुकहरु प्राय सल्यान, दाङ, रुकुम, रोल्पा, प्युठान, सुर्खेत लगायतका जिल्लाहरुवाट आउने गर्दछन् ।

Pin It on Pinterest

Share This