Home 5 संगठन 5 उद्यान 5 माईपोखरी वनस्पति उद्यान, ईलाम

माईपोखरी वनस्पति उद्यान, ईलाम

वनस्पति अनुसन्धान केन्द्र‚ इलाम अन्तर्गत रहेको माइपोखरी वनस्पति उद्यान सन्दकपुर गाउँपालिका वडा नं. १‚ ३ माइपोखरीमा अवस्थित छ । यस उद्यान समुन्द्री सतहदेखि २१२१ मिटरको उचाइ (अक्षांश २७0 ००’ २५” उत्तर र देशान्तर ८७0 ५६’ 0९” पूर्व) मा अवस्थित छ । माइपोखरी वनस्पति उद्यान वि.सं. २०४९ सालमा स्थापना भई वनस्पतिहरुको संरक्षण‚ अध्ययन तथा अनुसन्धान र  जडीबुटी तथा जैविक विविधतासम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गर्दै आईरहेको छ । माइपोखरी स्थानीयस्तरमा धार्मिक तथा सांस्कृतिक रुपमा अतिनै महत्वपूर्ण स्थल हो । माइपोखरीसहित आसपासको ९० हेक्टर क्षेत्रफल वि.सं. २०६५ सालमा विश्व रामसार क्षेत्रमा सूचीकृत भएको छ ।

माइपोखरी वनस्पति उद्यानमा शोभनीय बगैंचा‚ वंशाणुश्रोत संरक्षण स्थल‚ जडीबुटी प्रदर्शनी प्लट‚ शैक्षिक वाटिका‚ उन्यू वाटिका‚ गुराँस वाटिका‚ क्याक्टस हाउस‚ अर्किड हाउस‚ जडीबुटी नर्सरी‚ विशेष जैविक सम्पदा‚ जडीबुटी सूचना केन्द्रजस्ता विभिन्न स्थलहरु रहेका छन् । यस सिमसार क्षेत्र वरपर ७८ परिवारका २३१ प्रजातिका वनस्पतिहरु रहेका छन् जसमध्ये १७ प्रजातिका अर्किड‚ ३ प्रजातिका चाप‚ ५ प्रजातिका गुराँस छन् । यहाँ ठकठके‚ गलैँचे लेउ‚ दुई जातको चिमाल र सरीसृप पानी कुकुर the Himalayan warty newt (Tylototriton  verrucosus) जस्ता विशेष जैविक सम्पदा रहेका छन् । यस क्षेत्रमा वार्षिक सरदर १३,००० संख्यामा आन्तरिक तथा वाह्य पर्यटकहरुले अवलोकन गर्ने गरेका छन् ।

Pin It on Pinterest

Share This