Home 5 संगठन 5 उद्यान 5 पर्वतीय वनस्पति उद्यान, दामन, मकवानपुर

पर्वतीय वनस्पति उद्यान, दामन, मकवानपुर

वि. सं. २०२२ सालमा मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा स्थापित पर्वतीय वनस्पति उद्यान थाहा नगरपालिकाको दामन क्षेत्रमा पर्दछ।समुन्द्री सतहदेखि २३३० मिटर उचाइमा रहेको, लालीगुराँस र गोब्रे सल्लाको वन र प्रकृतिको मनोरम छटाले भरिपूर्ण यस उद्यानले करिब ६५ हे. क्षेत्रफल ओगटेको छ । यहाँ मध्य तथा उच्च पहाडी क्षेत्रमा पाइने उपयोगी वनस्पतिहरु चिराइतो, सतुवा, लौँठसल्ला, मजिठो, ठूलो ओखती, पाषणवेद, चुत्रो, जमाने मान्द्रो, ओखर, काफल, लेख पांग्रो, सुगन्धवाल, टिमुर, लालीगुराँस, बोझो, ठिंग्रे सल्ला, झुले सल्ला, तालीस पत्र, लोक्ता तथा विभिन्न प्रजातिका सुनाखरी लगायतका वनस्पतिहरुको संरक्षण हुदैं आएको छ । यस उद्यानबाट विभिन्न हिमालय श्रृंखलाहरुको मनोरम दृश्य अवलोकन गर्न पनि सकिन्छ । पर्वतीय वनस्पति उद्यानमा पर्यापर्यटन प्रवर्द्धनको लागि Eco trekking path र पुल निर्माण भएको छ। यहाँ धसिङ्ग्रेको गुणस्तर विकाससम्बन्धी अनुसन्धानको कार्यक्रम पनि सञ्चालनमा रहेको छ । यसैगरी उद्यानमा लालीगुराँस (Rhododendron sp), चुत्रो (Berberis aristata), पाषण भेद (Bergenia ciliata), तालिस पत्र (Abies spectabilis), सतुवा (Paris polyphylla), सल्ला (Pinus sp) लगायतका २९० प्रजातिका वनस्पतिहरू संरक्षित गरिएका छन्। यस उद्यानमा सेरेमोनियल प्लट (Ceremonial Plot) पनि व्यवस्थापन गरिएको छ। जसमा र्इच्छुक व्यक्तिहरुले विभिन्न शुभ अवसरहरु जस्तै: जन्मदिन, वैवाहिक वर्षगाँठ तथा अन्य विशेष अवसरमा बिरुवा रोप्ने गरेका छन्।वन नियमावली २०७९ को अनुसुची-२ बमोजिम यहाँ टिकेटिङ्ग शुल्क र अन्य विभिन्न प्रवेश शुल्कहरु निर्धारण गरिएको छ।

Pin It on Pinterest

Share This