Home 5 संगठन 5 उद्यान 5 वृन्दावन वनस्पति उद्यान, हेटौडा, मकवानपुर

वृन्दावन वनस्पति उद्यान, हेटौडा, मकवानपुर

वृन्दावन वनस्पति उद्यान वि.स. २०१९ सालमा साविकको पदमपोखरी गा.वि.स. वृन्दावन (हालः हेटौंडा उपमहानगरपालिका वडा नं. १३) मा स्थापना भएको हो। ९६ हेक्टर क्षेत्रफलमा फैलिएको यस उद्यानको करिब ३० हेक्टर क्षेत्रमा तारवार गरी उद्यानको नियमित कामहरु संचालन गरिएको छ भने बाँकी ६६ हेक्टर क्षेत्रमा (वाढी पिडित बस्ती) र सामुदायिक वन रहेको छ। वनस्पति अनुसन्धान केन्द्रको कार्यालय पनि यसै उद्यानमा रहेको छ। समुद्री सतहबाट ४०० मी. उचाईमा रहेको यस उद्यानमा विभिन्न वनस्पतिहरुको वंशाणु स्रोत संकलन गरी संरक्षण गरिएका छन् र तराई, शिवालिक तथा चुरे क्षेत्रमा पाइने विभिन्न जडीबुटी लगायत अन्य महत्वपूर्ण वनस्पतिहरुको स्वस्थानीय एवं परस्थानीय तबरबाट वंशाणु स्रोत (जर्मप्लाज्म) संरक्षण भईरहेको छ।यस उद्यानमा ५०० प्रजातिका वनस्पतिहरुलार्इ स्वस्थानीय र परस्थानीय रुपमा संरक्षण गरिएको छ। यस उद्यानमा पाईने मुख्य वनस्पतिहरु कुरीलो, सर्पगन्धा, हर्रो, बर्रो, बेल, अमला, श्रीखण्ड, तेजपात, रुद्राक्ष लगायतका अन्य जडीबुटीजन्य वनस्पतिहरु रहेका छन्। यसका साथै यस उद्यानमा दुर्लभ तथा लोपोन्मुख वनस्पतिहरु जस्तै: रुख उन्यू (Alsophila spinulosa), भोटे लहरा (Gnetum montanum), थाकल (Cycas pectinata), गुर्जो (Tinospora sinensis), सर्पगन्धा (Rauvolfia serpentina) तथा अर्किड (Orchid) लगायतका विभिन्न वनस्पतिहरुको संकलन एवं संरक्षण गरिएका छन्।

त्यसैगरी यहाँ अन्य आकर्षक प्लटहरु जस्तै भुलभुलैया (Maze garden), फोलिएज गार्डेन(Foliage garden), गुलाफ वाटिका (Rose garden), बेगमवेली वाटिका (Bougainvillea sp. garden), चौर (Lawn garden) ईत्यादि व्यवस्थापन गरिएको छ।अनुसन्धानको रुपमा यहाँ भेरार्इटि विकासको कार्यक्रम अन्तर्गत मेन्था (Mentha arvensis) को अनुसन्धान कार्य हुँदै गरेको छ भने भोटे लहरा, उन्यूको पनि विभिन्न तवरले बिरुवा उमारेर त्यससँग सम्बन्धित अन्य अनुसन्धानसम्बन्धीको काम हुँदैछ। यसैगरी उद्यानमा भोटे लहराको सफल प्रजनन अध्ययन गरिएको छ। साथै उन्यूको ४ प्रजातिहरु Dryopteris cochleata, Cyathea spinulosa, Diplazium esculentumTectaria coadunata को सफल अध्ययन गरिएको छ।

यस उद्यानमा भएको सेरेमोनियल प्लट (Ceremonial Plot) मा विभिन्न शुभ:अवसरहरु जस्तै: जन्मदिन, वैवाहिक वर्षगाँठ तथा अन्य विशेष अवसरमा बिरुवा रोप्ने प्रावधान पनि रहेको छ। हालसम्म यस प्लटमा १०२ वटा बिरुवाहरु रोपण भर्इसकेको छ। वन नियमावली २०७९ को अनुसुची-२ बमोजिम यहाँ टिकेटिङ्ग शुल्क र अन्य विभिन्न प्रवेश शुल्कहरु निर्धारण गरिएको छ।

.

Pin It on Pinterest

Share This