Home 5 संगठन 5 उद्यान 5 विश्व शान्ति जैविक विविधता उद्यान, रानीवन, पोखरा

विश्व शान्ति जैविक विविधता उद्यान, रानीवन, पोखरा

कुनैबेला बनपाले डाडाको नामले चिनिने फेवाताल पारीको नाङ्गो डाडालाई तत्कालिन राजा महेन्द्रले रानीवन नामकरण गरी सरकारी वनको रुपमा विकास गरेको इतिहासले बताउँछ । सोही वनको १६४ हेक्टर जमीन वनस्पति विभाग अन्तर्गतको विश्व शान्ति जैविक विविधता उद्यानको व्यवस्थापनमा रहेको छ । नेपाल सरकारबाट वि. सं. २०६७/०४/११ गते यस उद्यान स्थापनाको निर्णय भएको थियो भने वि. सं. २०६८/०५/१९ गते अन्तर्राष्ट्रिय वन वर्ष -२०११ को अवसरमा स्थापनाको आधिकारिक सूचना नेपाल राजपत्रमा प्रकाशित भएको थियो । यसको औपचारिक उद्‍घाटन वि. सं. २०६९/११/०४ मा तत्कालिन वन तथा भू-संरक्षण मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलबाट भएको थियो । जैविक विविधताको संरक्षण गर्दै, पर्यापर्यटनको माध्यमबाट आर्थिक विकास गर्ने मुख्य उद्धेश्यका साथ स्थापना भएको यो उद्यान पर्यटकीय नगरी पोखराको दक्षिण-पश्चिम दिशामा अवस्थित छ । यो उद्यान समुन्द्र सतहबाट ७७५ देखि १०७८ मि. उचाईमा रहेको छ ।उत्तरमा फेवाताल रहेको यो उद्यानको दक्षिणमा तितेपानी, टारिखेत घैयाखेत रहेको छ त्यसैगरी पश्चिममा विश्वशान्ति स्तुपा र अनदु खोला रहेको छ भने पूर्वमा पार्दी फेवा ड्याम रहेको छ ।यस विश्व शान्ति जैविक विविधता उद्यानमा स्वस्थानीय र परस्थानीय गरी दुई तरिकाबाट जैविक विविधताको संरक्षण भईरहेको छ। यस उद्यानमा ५५ प्रजातिका  रुख, ४२ प्रजातिका बुट्यान, १८ लहरे प्रजाति, ३ परजीवी प्रजाति, ११ प्रजातिका सुनाखरी र २८ प्रजातिका उन्यू प्रजातिहरु स्वस्थानीय संरक्षण गरिएका छन् ।  त्यस्तैगरी ४५ प्रजातिका सुनाखरी, २० प्रजातिका उन्यू, ४० प्रजातिका जडीबुटीजन्य वनस्पतिहरु सुनाखरी घर, उन्यू घर र जैविक विविधता शैक्षिक उद्यानमा परस्थानीय संरक्षण गरिएको छ । उद्यानको सौन्दर्यीकरणका लागि गुलाफ बाटिका, जिम्नोस्पर्म बाटिका, पाल्म बाटिका जस्ता थिमेटिक बाटिकाहरुको निर्माण गरिएको छ । गण्डकी प्रदेशकै एकमात्र वनस्पति उद्यान भएको हुनाले यो उद्यानले वनस्पति अध्ययनका लागि र समग्र पोखराको पर्यटन विकासको लागि राम्रो भूमिका खेल्न सक्ने देखिन्छ ।

Pin It on Pinterest

Share This